Wednesday 2 March 2016

कथा अनि व्यथा भाग २२ "हाम्रो बिदेशआउन पर्ने बाध्यता "

भोलिपल्ट बिहानै उठेर आ आफ्नो कर्म स्थल फर्कने पर्ने  भएकाले , बिहानै उठी सबैजनाले एक अर्का संग बिदाई लिई आ आफ्नो ठाउ तिर फर्कन्छन । कालीदास र क्यानाडाको साथी टोकियो फर्कने सिनकानसेनमा चढ़छन ।
अरु दुई जापानीज साथीहरु ओसाका फर्कन्छन । पछिल्ला दुई तिन दिन सगै घुमेको , रमाईलो गरेको भएर होला , छुटदा सारै नरमाईलो लाग्छ । तर के गर्ने काम पनि गर्नु पर्यो ,  ज़िन्दगी भर घुमेर पुग्ने भए त कति रमाईलो हुन्थ्यो होला भनि मनमनै कुराहरु खेलाईरहन्छ  ।

दुबैजना टोकियो तर्फ लाग्छन । टोकियोबाट कहिल्यै पनि बाहिर नगएको भएर होला , यस पटकको भ्रमणले कालीदास आफ्नो मन र तन दुबै फ्रेस भएको महसुस गर्छ र साथीसंग पनि कहिले क़ाही भ्रमण गर्नु पर्ने रहेछ है  ? भनि प्रश्न गर्छ । साथीले पनि बर्षमा एक दुई पटक भ्रमण गर्ने गरेको कुरा , यस पालीको भ्रमण पनि घेरै रमाईलो र थाकेको शरीरलाई आराम दिलाउन सकेको भन्ने कुरा गर्छ ।

केही घन्टामा नै दुबैजना टोकियो आईपुग्छन । टोकियो को टोकियो एकीबाट दुबै जना आ आफ्नो बाटो लाग्छन ।

कालीदास पनि आफ्नो घर तिर लाग्छ । घरमा पुगेपछि केहीसमय केही नबोली आखा चिम्लेर बस्दछ । हिजो अस्ती साथीहरुसंग घुमेको आज चाही एक्लै भएर होला कस्तो कस्तो , न्यास्रो महसुस गर्दछ ।

दाईगाकु चाही बिदा भएकाले दिउसो घरमानै आराम गरि बसीरहन्छ । बेलुकाबाट बिहानसम्म आरुबाईतो हुन्छ । दाईगाकु बिदा भएकाले अलि आरुबाईतो पनि थपेको हुन्छ । बिदाको बेलामा आरुबाईतो पनि गर्नु पर्यो , अलिअलि भएपनि कमाउन पर्यो भन्ने उधेश्यले आरुबाईतोको समय बढाएको हुन्छ ।

बेलुका काम गर्ने ठाउमा खान्साईको ओमियागे पनि लिएर गई , आरुबाईतोका साथीहरु , सिनियरहरु र जुनियरहरुलाई बाडछ । जापानमा काम बिदा लिएर धुम्न जादा अथबा कतै टाढा घुमेर आउदा ओमियागे ल्याएर बाढने चलन छ । मैले काम बिदा बस्दा तपाईहरुले सहयोग गरिदिनु भएकोमा धन्यबाद भन्ने अर्थ पनि ओमियागे मार्फत ब्यक्त गर्ने गर्दछन ।

बिहान सम्मकाम गरि भोलिपल्ट टोकियोमा नै बस्नुहुने नातेदारकोमा जान्छ । नातेदारकोलागी पनि ओमियागे लिएर आएको हुन्छ ।  नातेदारले पनि "त त जापानीज जस्तै भएचस त ? भनेर भन्छन "। कालीदासले पनि हासी हासी जापानमा आएपछि , जापानीज हुनुपर्यो नि भनेर भन्छ ।
यो ओमियागे लिएर आउने भन्ने संस्कृति कालीदासलाई पनि सारै मन पर्छ रे ।
ओमियागेलाई अरु शब्दमा  मियाको , दोसान , तोसान पनि भनिन्छ । आफ्ना साथीहरुलाई र नातेदारहरुलाई बाड़ने उधेश्यले यात्रा गन्तव्यमा किनमेल गर्नुलाई ओमियागे भनिन्छ । तेमियागे भनेर भन्ने चलन पनि छ । यात्रा गन्तव्यमा जादा , त्यहा गरेका कुरा कानीहरु र अनुभवहरु , फर्केर आएर भन्नुलाई ( सुनाउनुलाई ) ओमियागे बानासी भनेर भन्दछन । यो संस्कृति जापानको प्रचिनकाल देखी नै चलिआएको परम्परा हो । सायद यस्तो संस्कृति जापान बाहेकका देशहरुमा छैन होला ।

नातेदारकोमा गएर कुरा गर्दा गर्दौ केही समय अगाडी टुरिस्ट भिषामा जापान आई काम गरेको , अहिले भिषा सकिएकोले ओभरस्टे भएको साथीलाई प्रहरीले  प्रकाउ गरेको खबर सुन्छ । कालीदासको मिल्ने साथी थियो त्यो मान्छे , त्यसैले पनि होला , सरै नरमाईलो भएको जस्तो गर्दछ ।

अनि केहीसमय अगाडी टोकियोको तोगोसी गिन्जा र निसी कोयामा भन्ने ठाउमा भएको घटनाको बारेमा पनि सुन्छ  । त्यति बेला (२००४ - २०१०) निसीकोयामा र तोगोसी गिन्जा भनेको अहिलेको ( २०१४ - २०१६ ) सिन ओकुबो भनेको जस्तै नेपालीहरु धेरै बस्ने ठाउ थियो । त्यहा नेपाली सामान बेच्ने पसलहरु पनि धेरै थिए र नेपालीहरु पनि धेरै बस्दथे , कालीदास पनि एकपटक निसिकोयामा एकि नजिकैको तरकारी पसलमा काम गर्न इन्टरब्यु दिन गएको थियो । त्यहा काम गर्ने करिब २० जना नेपालीहरुलाई प्रहरीले ( ईमिग्रेसनले ) प्रकाउ गरि , नेपाल फिर्ता पठाईदिएको रहेछ । त्यतीबेला लिगल मान्छेहरु भन्दा ईलिगल अर्थात ओभरस्टे धेरै थिए ।

केही मान्छेहरु यस्ता रहेछन कि , जसले त्यतिबेलाको १० लाख जति तिरेर जापान टुरिस्ट भिषामा आएका रहेछन । बिचराहरु जापान आएको ४-५ महिनामा नै प्रहरीको ( ईमिग्रेसनको ) प्रकाउमा परेका रहेछन । जापान आएको पैसा तिर्न नपाऊदै बिचराहरु नेपाल फर्कन पर्यो । अहिले ( २०१६ ) को जस्तो थिएन पहिला , बल्ल बल्ल नेपालीलाई भिषा दिन्थ्यो , त्यहीपनि टुरिस्ट भिषा ३ महिना पछि लुकेर काम गर्न पर्दथ्यो । यो ख़बर नातेदारको मुखबाट सुन्ने बितिकै कालीदास दुखित हुन्छ । भोलिपल्ट नै सिनागाबा अध्यागमन बिभागमा गई प्रकाउ परेको साथीलाई भेटन जाने  निर्णय गर्दछ ।

हामी नेपालीहरु आफ्नै देशमा केही गरौ भनेर सोच्दैनौ , बिदेश जाने पैसाले नेपालमा नै केही गर्न पाईने  भए भनेर मनमनै सोच्दछ कालीदासले।

हाम्रो नेपालमा नै केही गर्छु भन्यो भने रिण कसैले नपत्याउने , बिदेश जान्छु भनेपछि रिण सबैले पत्याउने नराम्रो बाताबरण छ , अचन्मको देश छ । यसमाथी नेपालमा दुख गरेर खेतिपाती गर्यो , गाईबस्तु पाल्यो भनेपछि जब साग सब्ज़ी बेच्ने बेला आउछ , जब दुध बेच्ने बेला आउछ , हाम्रा राजनेताहरुले नेपाल बन्द गरिदिन्छन अनि बिदेश नगएर के गर्ने । भन्ने कुराकानी नातेदार संग गर्दछ ।

यस्ता कुराकानी गरि त्यो दिन नातेदारकोमानै बिताउछ ।

क्रमस.....

सिनकानसेन:बुलेट रेल
ओसाका:जापानको शहरको नाम
टोकियो:जापानको राजधानी
दाईगाकु: विश्वविद्यालय
आरुबाईतो:पार्ट टाईम जब
खान्साई:क्षेत्रको नाम
ओमियागे:कोसेली
मियाको , देसान , तोसान:कोसेली
तेमियागे:कोसेली
ओमियागे बानासी :कुराकानीको कोसेली
टुरिस्ट भिषा :पर्यटक भिषा
ओभरस्टे: अवैध रुपमा बस्नु
तोगोसी गिन्जा र निसी कोयामा : टोकियोको ठाउको नाम
एकि: स्टेसन
सिन ओकुबो :टोकियोको ठाउको नाम
इन्टरब्यु: अन्तर बार्ता
लिगल मान्छेहरु : बौधानिक रुपमा बस्नु
ईलिगल: गैरकानुनी
ईमिग्रेसन:अध्यागमन बिभाग

No comments:

Post a Comment