Tuesday 29 December 2015

कथा अनि व्यथा भाग १६ " मनको सन्तुष्टि र मनभित्रको शान्ति नै मोज हो "

कथाकार बिसु भण्डारीको लेख । यो कथा अनि व्यथा को घटना अनि पात्रहरु सबै काल्पनिक हुन् कसै को जिबनसंग मेल खान आएमा संयोग मात्र हुनेछ ।

कथा अनि व्यथा भाग १६ " मनको सन्तुष्टि र मनभित्रको शान्ति  नै मोज हो "

हिजोको साउजीले "मोज गर्नु भएको छ है " भनेको कुरा अझै बिर्सीन सक्दैन । केही समय एकजना कुक भिसामा आएका दाजुले पनि "तपाईहरु बिध्यार्थीलाई त मोज छ है ।" भनेर भनेका थिए। त्यसैगरि कालीदासका नातेदारले पनि " तलाई त एक्लो जिबन मोज छ है "भनेर भनेका थिए।अनि एकजना नेपालबाट जापान धुम्न आउनुभएको काठमाण्डूको दाजुले पनि " भाईहरुलाई त मोज छ है " भनेका थिए । 

के जापानी साथीहरु हुदैमा , बेला बेला रेस्टुरेन्ट गई खाना खादैमा , फुर्सदको समयमा यसो धुमधाम गर्दैमा , जापानी भाषा बोल्दैमा , राम्रो लुगा लगाउदैमा, फेसबुकमा राम्रो राम्रो फोटो राख्दैमा " मोज गरेको हुन्छ । त ? "

त्यती धेरै ले एउटै कुरा दोहोर्याएपछि कालीदास मोजको बारेमा सोच्न बाध्य हुन्छ । केहीसमय अगाडी पढेको एउटा किताबको केही भाग याद गर्दछ । 

त्यो किताबमा यस्तो लेखेको थियो । 

 "के हो त मोज ? टन्टलापुर घाममा हिँडिरहँदा कहिल्यै हामी वरपिपलको शितल छायामा बसेका छौ ? शिवरात्रिको चिसो रातमा के हामीले आगो तापेका छौ ? ठाडो उकालोमा जव खलखली पसिना बग्छ के त्यसबेला हामीले निर्मल झरनाको पानी पिएका छौ ? मोज कहीँ होईन , मोज त यही अलौकिक क्षणहरुमा लुकेका हुन्छ । पानी मिठो त्यतिबेला हुन्छ , जव हामीहरुलाई प्यास लाग्छ । खानाको स्वाद तब पाईन्छ , जव हामीहरुलाई भोंक लाग्छ । मोज भाङ् धतुरो होईन , मोज त शीतल हो , मोज न्यानोपन हो , मोज धैर्यता हो , मोज तिर्खा हो , मोज भोंक हो , मोज मेहनत हो । त्यसैले मोज प्राप्ति होईन , मोज प्रक्रिया हो । "

चाहीएको समयमा ,चाहीएको कुरा ,चाहिएको मात्रामा हासिल गर्नु नै मोज हो यस्तो लाग्छ कालीदासलाई । 

यो जगतमा सबैले मोज गरेका छन  । त्यो रेस्टुरेन्टको साउजीले ले पनि मोज गरेकै हुनुपर्छ । आत्मसन्तुष्टी नै मोज हो ।

यसै प्रसङ्गमा फेरी एउटा किताबमा पढेको कुरा याद गर्दछ । त्यो कुरा यसप्रकार छ । 
" एकदिन एउटा भक्तले जोगीको कोठामा मुसाले किताब चपाईरहेको देखेछ । त्यो देखेर उसले भन्यो , " ओहो हेर्नुस त , बाबा , तपाईको कोठाभित्र त मुसाले किताब खाईरहेको छ । " 

"हो भन्या , कहाँबाट आए कहाँबाट ? यी मुसाहरु । अस्ती पनि मेरो एउटा बहुमुल्य किताब खाएर बर्बाद पारिदिए " , जोगीले दुखेसो पोखे । 

हैन हजुर यो मुसालाई त यहाँबाट घपाउनै पर्यो । अर्कों गाउँलेले सही थाप्यो । 

"ठिक छ ल, म भोली एउटा बिरालो ल्याउछु । बिरालो देखेपछि त सबै मुसा यहाँबाट भागीहाल्छन नि । " अर्कों गाउँले बोल्यो । 



भोलिपल्ट एउटा गाउलेले काखी च्यापेर बिरालो ल्याईदियो । आफ्नो भक्तजनको सहयोग पाएर जोगी दंग पर्यो । कुटीमा बिरालोको गन्ध पाएपछि मुसा जम्मै भागेछन । त्यो देखेर जोगी खुब खुसी भएछ । केही दिनपछि मुसा पनि सकिएछन । केही खान नपाएर बिरालो भोकले "म्याउ म्याउ " गर्न थाल्नो । 

बिरालोको बिजोग देखेर जोगी दुखी भयो , "हरे ! बिचराले केही खान पाएन । भोंक लाग्यो होला । के ख्वाउने मैले ? "

बिरालो भोकाएको कुरा जोगीले आफ्ना भक्तहरुलाई सुनायो । एउटा भक्तले जुक्ति सिकाउछ , "बाबा ! धन्दा मान्नु पर्दैन , म भोली एउटा गाई ल्याईदिन्छु । दोएर बिरालोलाई ख्वाए भईहाल्यो नि । "

भोलीपल्टै त्यो भक्तले जोगीलाई राम्रो दुहुनो गाई दान दिएछ । दुई चार दिन त जोगी खुब रमायो । जोगीले गाई दोएर बिरालोलाई ख़ुवायो , आफुले पनि मज्जाले खायो । तर तीनचार दिनपछि गाईको दुध दुहुने , घाँस काटने , गोठ सफ़ा गर्ने काम उसका लागी बोझ हुन थाल्यो । कुटीमा आगों तापी आरामले जिविकोपार्जन गरिरहेको विचरा जोगीले आफ्ना भक्तजनलाई सुनायो । 

एकजना पाको भक्तजनले भन्यो ," हजुरलाई त सार्है दुख पो भएछ , प्रवचन सुनाउने बुध्दीजिबीले कहा गोठ सफा गरेर बस्ने ? यो त भएन । ल , हजुरलाई म गाईको स्याहार 
सुसार गर्ने एउटी सुसारे ल्याईदिन्छु । "

भक्तको कृर्पाले गाईको गोठ सफा गर्न , दुध दुहुन , बिरालोलाई दुध खुबाउन र जोगीलाई घरायसी कामसमेत गर्न एउटी केटी ल्याईदिएछन । दिन बित्दै गयो , केटी जवान र राम्री हुदै गईन । विस्तारै जोगी र केटीको बीच प्रेमसम्बन्ध गासिदै गयो । पछि त उनीहरुको बच्चा जन्मीयो । अनि अलौकिक जीवनको मोज प्राप्त गरिरहेको एउटा जोगी अब सांसारिक जीवनमा आएर भोगी हुन पुग्यो । केही नभएको बेलामा पनि जोगीले आध्यात्मिक मोज गरिरहेका थिए । सांसारिक जीवनमा आएपछि केटीसित जीवन बिताउँदा उनले अर्कै भौतिक मोज प्राप्त गर्न थाले । 

वस्तुगत रुपले अध्ययन गर्ने हो भने मोज "यत्रतत्र सर्वत्र " व्याप्त रहेको पाउन सकिन्छ । यदि त्यसलाई सही मानेमा पहिचान गरेर अनुभुति गर्न सक्यो भने चाहे त्यो झुपडीमा बस्ने गरिव नै किन नहोस , मोजबाट विमुख हुनु पर्दैन । सोख र मोजको परिभाषा जतिसुकै विराट र विभाजित देखिए पनि यसको मुल मर्म एउटै कुरामा आएर टुन्गिन्छ । त्यो हो " मनको सन्तुष्टि र मनभित्रको शान्ति । "

हिजोको रेस्टुरेन्टका साउजी , कुक दाजु , नातेदार र धुम्न आएका दाजु मात्र नभएर , हामीहरु सबै मोज भन्ने शब्द नबुझी प्रयोग गरेका छौ जस्तो लाग्छ । 

"चाहीएको समयमा ,चाहीएको कुरा ,चाहिएको मात्रामा हासिल गर्नु नै मोज हो " अर्थात " मनको सन्तुष्टि र मनभित्रको शान्ति " नै मोज हो । 

〜क्रमस〜

"यस भागमा कर्ण शाक्य दाईको पुस्तक मोजका केही बुदाहरु प्रयोग गरिएको छ"

No comments:

Post a Comment